देशको अस्तित्व र स्वाभिमान रक्षा अहिलेको मुख्य चुनौती : माधव नेपाल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अस्तित्व र स्वाभिमानको रक्षा अहिलेको प्रमुख चुनौती रहेको बताएका छन्।
२९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले मुलुकलाई विदेशी शक्तिको प्रभावबाट जोगाउँदै स्वतन्त्र निर्णय गर्न सक्ने अवस्था कायम राख्नुपर्ने बताए।
“विदेशीको क्रिडाभूमि बन्नबाट देशलाई जोगाउने चुनौती हाम्रो सामुमा छ,” उनले भने, “हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन, कसैको अधीनमा पनि रहन चाहँदैन। कसैको विरोधमा पनि जान चाहँदैन, सबैसँग मैत्रीभाव राख्दछ।”
नेता नेपालले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको बताए। कार्यक्रममा उनले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लोकतान्त्रिक आन्दोलनमा तुलसीलाल अमात्यले खेलेको भूमिकाको स्मरण गर्दै उनको योगदानको चर्चा गरे।
उनले देशको राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै राष्ट्रिय हित र स्वाभिमानलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।







