धवलशमशेर राणा र दुर्गा प्रसाई साउनभित्रै नयाँ पार्टी दर्ताको तयारीमा
Prime TV News १७ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्।
उनीहरू निकट स्रोतका अनुसार विभिन्न चरणका आन्तरिक छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अभियानमा संलग्न सगुन लावतीले साउन २६ गते नयाँ दल दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार त्यसअघि पार्टीको नाम, चुनाव चिह्न, झण्डा तथा अन्य संगठनात्मक विषय टुंग्याउन गठन गरिएको कार्यदलले अन्तिम निर्णय गर्नेछ। नयाँ पार्टीलाई परम्परागत राजनीतिक दलभन्दा फरक ‘कन्जरभेटिभ’ मोडलमा अघि बढाउने तयारी गरिएको नेताहरूले बताएका छन्।
पार्टीले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि सार्ने तथा युवा पुस्तालाई आकर्षित गर्ने रणनीति लिएको जनाइएको छ। पार्टीको औपचारिक घोषणा, नेतृत्व संरचना र नीति–कार्यक्रम भने दर्ता प्रक्रियापछि सार्वजनिक गरिने तयारी रहेको स्रोतले जनाएको छ।







