रास्वपाका कार्यकर्ता हिन्दूवादी अभियन्ता हुन सक्छन् : सांसद मनीष झा

User Image Prime TV News १७ घण्टा अगाडि
Image of रास्वपाका कार्यकर्ता हिन्दूवादी अभियन्ता हुन सक्छन् : सांसद मनीष झा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनीष झाले रास्वपाका सदस्यहरूले व्यक्तिगत रूपमा हिन्दूवादी अभियानमा सहभागी हुन पाउने बताएका छन्।

उनले पार्टीको सदस्यता र व्यक्तिगत धार्मिक आस्था फरक विषय भएकाले त्यसलाई विवादको विषय बनाउन नहुने धारणा राखेका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै झाले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे।

तर, उनले त्यसलाई व्यक्तिगत हैसियतमा भएको सहभागिता भन्दै आलोचना गर्नु उचित नभएको बताए। “हाम्रो कार्यकर्ता १५ जनामध्ये एकजना हुनुहुन्थ्यो, जो राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुनुहुन्छ, तर उहाँ हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रताको विषय हो,” उनले भने।

झाका अनुसार रास्वपाका सदस्यहरूले धार्मिक आस्था राख्न र त्यससम्बन्धी अभियानमा सहभागी हुन पाउने अधिकार संविधानले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रताको दायराभित्र पर्छ। उनले कुनै पार्टीको सदस्य भएकै कारण सरकारसँगको वार्तामा सहभागी हुन नपाउने भन्ने तर्क स्वीकार्य नभएको बताए।

उनले आन्दोलनलाई हिंसात्मक दिशामा जान नदिई वार्तामार्फत समाधान खोज्न रास्वपाका सदस्यको भूमिकाले सहयोग पुगेको दाबी गरे। “हामीले उहाँलाई वार्ताको टेबलमा ल्यायौं। आन्दोलन तोडफोड, आगजनी र हिंसामा जानुभन्दा संवादबाट समाधान खोज्नु राम्रो हो,” उनले भने।

झाले हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे नौ घण्टा वार्ता गरेको उल्लेख गर्दै आन्दोलनकारीका मागलाई संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले उपयुक्त हुने गरी छलफल गरिएको बताए। उनका अनुसार उचित र सम्भावित मागहरूबारे सरकारले थप अध्ययन र संवाद अघि बढाउनेछ।

सांसद झाले पार्टीका सदस्यहरूको राजनीतिक पहिचानसँगै व्यक्तिगत जीवन र आस्था पनि हुने उल्लेख गर्दै रास्वपाको सदस्य हुनुका आधारमा कसैको धार्मिक स्वतन्त्रतामाथि प्रश्न उठाउन नहुने धारणा व्यक्त गरे।:::