युट्युब मार्फत भ्रामक सूचना फैलाएको आरोपमा एक पक्राउ

User Image Prime TV News १७ घण्टा अगाडि
Image of युट्युब मार्फत भ्रामक सूचना फैलाएको आरोपमा एक पक्राउ

काठमाडौ । सामाजिक सञ्जाल युट्युबमार्फत भ्रामक सूचना प्रसारण गरी जातीय तथा धार्मिक द्वेष फैलाएको तथा हिंसात्मक गतिविधिलाई उत्तेजित बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ का स्थायी बासिन्दा तथा हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल रहेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार भुसालले ‘नेपाली खबर टिभी’ नामक युट्युब च्यानलमार्फत भ्रामक सूचना तथा अफवाह फैलाउने सामग्री उत्पादन र प्रसारण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ब्यूरोका अनुसार उनले सामाजिक सञ्जालमा दर्शक र फलोअर्स बढाउने तथा आर्थिक लाभ लिने उद्देश्यले वर्तमान सामाजिक परिवेशमा प्रत्यक्ष असर पर्ने किसिमका सामग्री प्रकाशन गरेका थिए। उनीमाथि जातीय तथा धार्मिक द्वेष फैलाउने, हिंसात्मक तथा ध्वंसात्मक गतिविधिलाई उक्साउने र विभिन्न समुदायबीचको सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण गरेको आरोप लगाइएको छ।

साइबर ब्यूरोले सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा उनी त्यस्ता गतिविधिमा संलग्न रहेको जनाएको छ। भुसाललाई साउन १६ गते इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवलबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।