अनसनरत ज्योति रानाभाटको स्वास्थ्य बिग्रँदै, पेसागत स्वास्थ्य सङ्गठनद्वारा सरकारसँग तत्काल संवादको माग

User Image Prime TV News एक दिन अगाडि
Image of अनसनरत ज्योति रानाभाटको स्वास्थ्य बिग्रँदै, पेसागत स्वास्थ्य सङ्गठनद्वारा सरकारसँग तत्काल संवादको माग

काठमाडौ । आमरण अनसनमा रहेकी ज्योति रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै विभिन्न पेसागत स्वास्थ्य सङ्गठनहरूले सरकारसँग तत्काल सार्थक संवाद गरी उनका माग सम्बोधन गर्न आग्रह गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन, नेपाल मेडिकल ल्याबोरेटरी एसोसिएसन र नेपाल सिएमए सङ्घले रानाभाटले उठाएका माग स्वास्थ्यकर्मीहरूको सम्मान, सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवासँग सम्बन्धित साझा र न्यायोचित विषय भएको बताएका छन्।

स्वास्थ्य संस्थाहरूले सत्याग्रह लम्बिँदै जाँदा रानाभाटको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा राखेर अनसनमा बस्दासमेत सरकार र सम्बन्धित निकाय मौन रहेको आरोप लगाएका छन्।

उनीहरूले सरकारले यस विषयलाई गम्भीर रूपमा नलिएर ढिलाइ गरे त्यसबाट उत्पन्न हुन सक्ने कुनै पनि परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने चेतावनी दिएका छन्। संयुक्त विज्ञप्तिमार्फत स्वास्थ्यसम्बद्ध संस्थाहरूले सरकारलाई यथाशीघ्र वार्तामा बसेर रानाभाटका मागहरूको ठोस सम्बोधन गर्न आग्रह गरेका छन्।

साथै, वि.सं. २०८२ मा भएको आमरण अनसनका क्रममा सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न पनि जोडदार माग गरेका छन्। स्वास्थ्य सङ्गठनहरूले संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मीको पेशागत अधिकार, सुरक्षा र सेवाको गुणस्तर सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।