मनसुन सक्रिय, आज पनि देशभर वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको चेतावनी
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद्का अनुसार मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले पनि मध्यम वर्षा भइरहेको छ भने दिउँसो पनि अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको उनले बताए।
विभागका अनुसार पहाडी क्षेत्रका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज विशेषगरी बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा पनि आज दिनभर वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसमविद् दाहालले बताए। केही समय पानी रोकिएजस्तो देखिए पनि पुनः वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अवलोकन गर्न अनुरोध गरेको छ।







