पाकिस्तानको स्वातमा आत्मघाती बम विस्फोट, १४ जनाको मृत्यु, २२ घाइते

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पाकिस्तानको स्वातमा आत्मघाती बम विस्फोट, १४ जनाको मृत्यु, २२ घाइते

काठमाडौ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त अन्तर्गत स्वात उपत्यकामा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

आइतबार साँझ स्वातको कबाल सहरस्थित एक प्रहरी चौकीबाहिर विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीडनजिक विस्फोट भएको हो।

स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए।

स्वातका डेपुटी इन्स्पेक्टर जनरल अफ पुलिस फिदा हुसेनका अनुसार घटनाको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन। सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

घटनाको समयमा स्थानीयवासीहरू क्षेत्रमा बढ्दो हिंसाविरुद्ध सरकारसँग प्रभावकारी सुरक्षा व्यवस्था र कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका थिए। सभाको अन्तिम वक्ताले सम्बोधन गरिरहेका बेला विस्फोट भएपछि घटनास्थलमा भागदौड मच्चिएको थियो।

पछिल्ला वर्षहरूमा स्वात उपत्यकामा फेरि हिंसात्मक गतिविधि बढ्न थालेका छन्। सन् २००९ मा पाकिस्तानी सेनाले ठूलो सैन्य अभियान सञ्चालन गरी तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को प्रभाव कमजोर बनाए पनि पछिल्लो समय सुरक्षा चुनौती पुनः बढ्दै गएको छ।

घटनापछि पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शेहबाज सरिफले बम विस्फोटको कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनीहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।