ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु

User Image Prime TV News ३ घण्टा अगाडि
Image of ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौ । ग्रिसमा भीषण डढेलो नियन्त्रण गर्ने क्रममा आइतबार दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा डेनमार्कका एक पाइलट र ग्रिसको फायर सर्भिसका एक सम्पर्क अधिकृतको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

दुर्घटनामा अर्का बेलायती पाइलट र एक ग्रिक समन्वयकर्ता सामान्य घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

दुर्घटना राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा रहेको अट्टिका–बोयोटिया सीमाक्षेत्रमा डढेलो नियन्त्रणका लागि परिचालित हेलिकोप्टरहरू उडिरहेका बेला भएको हो।

सार्वजनिक भएको भिडियोमा दुई हेलिकोप्टर आकाशमै ठोक्किएको देखिन्छ। ठक्करपछि एउटा हेलिकोप्टरमा आगो लागेर नजिकैको खोंचमा खसेको थियो भने अर्को हेलिकोप्टरले आकस्मिक अवतरण गर्न सफल भएको थियो।

ग्रिक फायर सर्भिसका अनुसार एउटा हेलिकोप्टरमा रहेका चालक दलका सदस्यहरूको सकुशल उद्धार गरिएको थियो। अर्को हेलिकोप्टरमा रहेका दुई जनालाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यसैबीच, ग्रिसका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रणका लागि ५०० भन्दा बढी अग्निनियन्त्रक लगातार परिचालित छन्। पोर्टो जर्मेनो, पासाथा, फोकिडा, मेगारा र केफालोनियालगायतका क्षेत्रमा आगो फैलिन नदिन उद्धार तथा नियन्त्रण कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।