ट्रम्पको दाबी : आजदेखि अमेरिका–इरानबीच नयाँ चरणको वार्ता
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ चरणको वार्ता सोमबारदेखि सुरु हुने दाबी गरेका छन्।
उनले मध्यपूर्वका सहयोगी राष्ट्रहरूको आग्रहपछि इरानमाथि गर्ने भनिएको ठूलो सैन्य कारबाही स्थगित गरेर कूटनीतिक संवादलाई प्राथमिकता दिइएको बताएका छन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका–इरान वार्ता सोमबार दिउँसो सुरु हुने बताए। यद्यपि, वार्ता कहाँ हुने, त्यसमा को–को सहभागी हुने वा छलफलको औपचारिक कार्यसूचीबारे उनले कुनै विवरण सार्वजनिक गरेनन्।
यसअघि आइतबार आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले इरान र मध्यपूर्वमा रहेका अमेरिकी सहयोगीहरूले सैन्य कारबाही रोक्न आग्रह गरेको र सम्भावित सम्झौताको रूपरेखा लगभग तयार भइसकेको दाबी गरेका थिए।
यता, इरानको अर्ध–सरकारी समाचार एजेन्सी मेहरले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ। एजेन्सीका अनुसार इरानले अमेरिकासँग कुनै सैन्य कारबाही स्थगित गर्न अनुरोध नगरेको र ट्रम्पको अभिव्यक्तिलाई ‘नयाँ झुट’का रूपमा टिप्पणी गरिएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री अब्बास अराघचीले ओमानको मध्यस्थतामा हर्मुज जलडमरूमध्यसँग सम्बन्धित सम्झौताबारे भइरहेको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्।
अमेरिका र इरानबीच वार्ता सुरु हुने ट्रम्पको दाबी तथा इरानको त्यसप्रतिको अस्वीकारबीच मध्यपूर्वको सुरक्षा अवस्था र कूटनीतिक पहलप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।







