स्वास्थ्यमन्त्री मेहताद्वारा ज्योति रानाभाटको सत्याग्रहप्रति चासो, आज पुनः वार्ताको तयारी

User Image Prime TV News ५४ मिनेट अगाडि
Image of स्वास्थ्यमन्त्री मेहताद्वारा ज्योति रानाभाटको सत्याग्रहप्रति चासो, आज पुनः वार्ताको तयारी

काठमाडौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले आफू स्वास्थ्यकर्मीसमेत भएकाले रानाभाटका माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहेको उल्लेख गरेकी छन्। मन्त्री मेहताका अनुसार मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गर्दै आएको छ।

साथै, स्वास्थ्य तथा शिक्षासम्बन्धी संसदीय समितिका सभापतिले पनि वार्ताका लागि निरन्तर पहल गरिरहेको उनले बताएकी छन्। सुनसरीको हिंसात्मक घटनाका कारण आफू त्यहाँ व्यस्त रहे पनि यो विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री मेहताले आज पुनः सम्बन्धित पक्षसँग वार्ता गरी सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

नर्सिङ क्षेत्र सुधारका १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि आमरण अनशनमा बसेकी ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी वीर अस्पतालमा उपचाररत छिन्। रक्तचाप र सुगरको स्तर घटेपछि उनलाई क्याबिनबाट आईसीयूमा सारिएको अस्पतालले जनाएको छ।