पूर्वप्रधानमन्त्री शेख हसिना दुई वर्षपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्ने

User Image Prime TV News एक घण्टा अगाडि
Image of पूर्वप्रधानमन्त्री शेख हसिना दुई वर्षपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्ने

काठमाडौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु आउने भएकी छन्।

उनी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने भर्चुअल कार्यक्रममा सहभागी हुँदै आफ्नो राजनीतिक भविष्य र बंगलादेश फर्किने सम्भावनाबारे धारणा राख्ने कार्यक्रम तय भएको छ। ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ले आयोजना गर्ने उक्त कार्यक्रम नयाँ दिल्लीस्थित सर मार्क टली अडिटोरियममा साँझ ६ बजेदेखि ७:३० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण क्लबका सामाजिक सञ्जालमार्फत पनि गरिनेछ। सन् २०२४ मा विद्यार्थी आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएपछि शेख हसिनाले बंगलादेश छाडेर भारत पुगेकी थिइन्। उनको करिब १६ वर्ष लामो शासन अन्त्य भएको दोस्रो वर्षको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा शेख हसिनासँगै उनका छोरा सजिब वाजेद जोय, पूर्वमन्त्री, कूटनीतिज्ञ, मानवअधिकारकर्मी, सुरक्षा तथा राजनीतिक विश्लेषक र अन्य विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ। शेख हसिनाको बहिर्गमनपछि बंगलादेशको राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन आएको छ।

अन्तरिम सरकारको कार्यकाल समाप्त भएपछि हाल बीएनपी नेतृत्वको सरकार गठन भएको छ भने तारिक रहमान प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन्।