धवलशमशेर राणाद्वारा दुर्गा प्रसाईको रिहाइको माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेता धवलशमशेर राणाले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत उनले अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएका छन्। प्रहरीले प्रसाईलाई भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा आइतबार राति पक्राउ गरेको थियो।
पक्राउ हुनुअघि उनले भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राजसंस्था पुनःस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउने उद्देश्यसहित नयाँ अभियान घोषणा गरेका थिए। सो क्रममा उनले सरकारको आलोचनासमेत गरेका थिए।
राणाले स्वतन्त्र अभिव्यक्तिका आधारमा कसैलाई पक्राउ गर्नु निन्दनीय भएको उल्लेख गर्दै प्रसाईंको तत्काल रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।







