सप्तरीमा राजविराज र बोदेबर्साइन क्षेत्रको निषेधाज्ञा पूर्ण रूपमा हटाइयो
Prime TV News ४५ मिनेट अगाडि 
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।
आइतबार जिल्ला प्रशासन कार्यालयको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणको सहभागिता रहेको थियो।
प्रशासनले जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य रहेको जनाएको छ। साथै, आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।







