कांग्रेसमा क्रियाशील सदस्यता व्यवस्थापन अन्योलमा, महाधिवेशन कार्यतालिका प्रभावित हुने आशंका

User Image Prime TV News एक घण्टा अगाडि
Image of कांग्रेसमा क्रियाशील सदस्यता व्यवस्थापन अन्योलमा, महाधिवेशन कार्यतालिका प्रभावित हुने आशंका

काठमाडौ । नेपाली कांग्रेसको आन्तरिक विवादका कारण क्रियाशील सदस्यता व्यवस्थापन प्रक्रिया अन्योलमा परेको छ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित क्रियाशील सदस्यता व्यवस्थापन समितिले तोकेको समयसीमा सकिए पनि थप निर्णय लिन नसक्दा समिति अनिर्णयको अवस्थामा पुगेको छ। समितिले यसअघि साउन ११ गते विज्ञप्ति जारी गर्दै साउन १४ गतेभित्र वडा समितिले क्रियाशील सदस्यता स्वीकृत गरिसक्नुपर्ने समयसीमा तोकेको थियो।

तर साउन १८ गतेसम्म न म्याद थप गरिएको जानकारी आएको छ, न सदस्यता स्वीकृति प्रक्रिया सम्पन्न भएको घोषणा नै भएको छ। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार साउन १४ गतेको समयसीमापछि कुनै नयाँ निर्णय हुन सकेको छैन।

पार्टीभित्र क्रियाशील सदस्यतालाई लिएर राजनीतिक विवाद रहेकाले सबैलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्ने उद्देश्यले प्रक्रिया तत्काल बन्द नगरिएको उनले बताएका छन्। कांग्रेसभित्रको विवाद विशेष महाधिवेशनपछि सुरु भएको क्रियाशील सदस्यता व्यवस्थापन प्रक्रियासँग जोडिएको छ। विशेष महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय समितिले क्रियाशील सदस्यता अनिवार्य रूपमा डिजिटल अध्यावधिक गर्नुपर्ने निर्णय गरेको थियो।

तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरूले उक्त प्रक्रियाप्रति असहमति जनाउँदै आएका छन्। उनीहरूले आफ्ना निकट कार्यकर्ताको सदस्यता नवीकरण पहिले नै भइसकेको भन्दै डिजिटल अध्यावधिकलाई अनिवार्य बनाउन नहुने धारणा राखेका छन्।

ठोस निर्णय हुन नसक्दा तल्लो तहका कार्यकर्ता र वडा समितिहरूमा समेत अन्योल बढेको छ। राजनीतिक सहमति नजुटे आगामी १५औँ महाधिवेशनको तयारी र कार्यतालिका प्रभावित हुने सम्भावना देखिएको छ। कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।