ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न उपभोक्ता मञ्चको माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना भएको दाबी गर्दै दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
मञ्चका प्रवक्ता उज्वलराज गौतमले सोमबार जारी गरेको विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति सहज भइरहे पनि सर्वसाधारण घण्टौँ लाइनमा बस्न बाध्य हुनु बजारमा कृत्रिम अभाव र कालोबजारीको संकेत भएको उल्लेख गरिएको छ।
मञ्चले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, सञ्चित गर्ने र बढी मूल्यमा बिक्री गर्ने बिचौलिया तथा व्यापारीमाथि कडा कारबाही गरी सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ। चाडपर्व नजिकिँदै गर्दा र विपद्को समयमा बजारमा महँगी तथा अभाव बढ्नु र नियमनकारी निकाय प्रभावकारी रूपमा सक्रिय नहुनु दुःखद भएको मञ्चको भनाइ छ।
मञ्चले चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको आरोप लगाउँदै तत्काल प्रभावकारी अनुगमन गर्न माग गरेको छ।
बिना आधार गरिएको मूल्यवृद्धि फिर्ता गराउन, कालोबजारी र नाफाखोरी नियन्त्रण गर्न तथा उपभोक्तालाई राहत दिने कदम चाल्न सरकारलाई आग्रह गर्दै मञ्चले माग सम्बोधन नभए उपभोक्ताको अधिकारका लागि विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।







