सुदन किराँतीद्वारा उपसभामुख ठाकुरको आलोचना, पार्टी अनुशासनमा जोड

User Image Prime TV News एक घण्टा अगाडि
Image of सुदन किराँतीद्वारा उपसभामुख ठाकुरको आलोचना, पार्टी अनुशासनमा जोड

काठमाडौ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुबीकुमारी ठाकुरको आलोचना गरेका छन्।

उनले पार्टीको योगदानबाट सार्वजनिक पदमा पुगेपछि ठाकुरले पार्टीको भूमिका र योगदानलाई सम्मान गर्न नसकेको आरोप लगाए। पार्टीको एक कार्यक्रममा बोल्दै किराँतीले श्रम संस्कृति पार्टीकै समर्थन र योगदानबाट पदमा पुगेका व्यक्तिहरूले पार्टीको सिद्धान्त, नीति र अनुशासनअनुसार काम गर्नुपर्ने बताए।

उनले पार्टीको सिफारिसमा नियुक्त कर्मचारी हटाउने विषयमा उपसभामुख ठाकुरको भूमिकामाथि प्रश्न उठाएका थिए। किराँतीले पार्टी संस्थागत प्रणाली र विधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले पार्टीको काँधमा चढेर मेयर, सांसद, मन्त्री वा अन्य जिम्मेवारीमा पुगेका नेताहरूले व्यक्तिगत इच्छाअनुसार नभई पार्टीको विचार र नीतिअनुसार अघि बढ्नुपर्ने बताए।

उनले पार्टी संस्थागत रूपमा सञ्चालन हुन नसके कुनै पनि शक्तिले जोगाउन नसक्ने धारणा राखे। पार्टीलाई देशकै प्रमुख शक्ति बनाउने, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र सर्वमान्य नेतृत्व स्थापित गर्ने लक्ष्य पूरा गर्न संगठन, प्रणाली र अनुशासन आवश्यक रहेको उनको भनाइ थियो।

किराँतीले पार्टीका शुभेच्छुक र सदस्यहरूले समेत पार्टीको लाइन र नीतिअनुसार धारणा राख्नुपर्ने बताए। अरूभन्दा आकर्षक र प्रभावकारी पार्टी बनाउन विचार, प्रणाली र व्यवहार स्पष्ट हुनुपर्ने उनले उल्लेख गरे।