नेप्से सामान्य घट्यो, कारोबार रकम भने बढ्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेप्से सामान्य घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ।

नेप्से १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा कायम भएको हो। यद्यपि, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा भने सुधार आएको छ। सोमबार कुल ३४९ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको, १४१ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ कारोबारमार्फत ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरमा किनबेच भएका छन्। यो कारोबार रकम अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा करिब २२ प्रतिशत बढी हो।

कारोबार भएका समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहका परिसूचक बढेका छन्। सबैभन्दा धेरै म्युचुअल फन्ड समूह ०.४९ प्रतिशतले बढेको छ।

यता वित्त, उत्पादन तथा प्रशोधन, लगानी, व्यापार र अन्य समूहका परिसूचक घटेका छन्। सबैभन्दा धेरै व्यापार समूह ०.९३ प्रतिशतले ओरालो लागेको छ। आज सबैभन्दा बढी कमाउने कम्पनीहरूमा एभरेष्ट कलर लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक, माहुली लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र सागर डिस्टिलरीका लगानीकर्ता रहेका छन्।

सबैभन्दा बढी गुमाउनेमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंकको डिबेञ्चर तथा कामना सेवा विकास बैंकको डिबेञ्चरका लगानीकर्ता रहेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने ग्लोबल आइएमई बैंक अगाडि रहेको छ, जसको ७ लाख ३८ हजार ६१२ कित्ता सेयर कारोबार भएको छ।