कोसीमा एमाले विवाद चर्कियो, मुख्यमन्त्री कार्की विश्वासको मत लिन सदन जाने तयारीमा

User Image Prime TV News एक घण्टा अगाडि
Image of कोसीमा एमाले विवाद चर्कियो, मुख्यमन्त्री कार्की विश्वासको मत लिन सदन जाने तयारीमा

काठमाडौ । नेकपा एमाले भित्रको आन्तरिक विवादका कारण कोसी प्रदेश सरकार संकटमा परेको छ।

एमाले सचिव शेरधन राईले ‘अध्यक्षको निर्देशन’ भन्दै राजीनामा दिन दबाब दिएपछि मुख्यमन्त्री हिक्मत कार्की थप असन्तुष्ट बनेका छन्। मुख्यमन्त्री कार्कीले आफूलाई जबर्जस्ती राजीनामा दिन लगाउन खोजिए स्वीकार नगर्ने र अविश्वासको प्रस्ताव आए सदनमै सामना गर्ने तयारी रहेको बताएका छन्।

उनले पार्टीले औपचारिक निर्णय गरे मात्र पद छाड्ने संकेत दिएका छन्। केन्द्रमा एमाले–नेकपा सत्ता साझेदारीको सहमतिपछि कोसीमा कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास भइरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको भन्दै सोही सन्देश लिएर प्रदेश इन्चार्ज शेरधन राई विराटनगर पुगेका थिए। तर, कार्कीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आए सदनमा विश्वासको मत लिएर सामना गर्ने अडान राखेका छन्।

एमाले सांसद रेवतीरमण भण्डारीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिन सक्ने र त्यस्तो अवस्थामा सांसदहरूले व्यक्तिगत रूपमा मतदान गर्न सक्ने बताएका छन्।

यसैबीच मुख्यमन्त्री कार्कीविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भएको छ। एमाले सचिव राईनिकट मानिने प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले हस्ताक्षर संकलनको जिम्मेवारी पाएको बताइएको छ।

तर, केही सांसदले पार्टीको निर्देशन भए पनि विश्वासको मतका बेला ‘फ्लोर क्रस’ हुन सक्ने बताएका छन्। कार्की पक्षका प्रमुख सचेतक रमेश बस्नेत, रेवतीरमण भण्डारीलगायत सांसदहरूले कार्कीकै निरन्तरताका लागि लबिइङ गरिरहेका छन्।

एमालेभित्रको विवादकै बीच अन्य दलबाट समेत मुख्यमन्त्री बनाउने प्रयास भइरहेको दाबी गरिएको छ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न सक्ने भएकाले दलको ह्वीप प्रभावकारी नहुने तर्क गरिएको छ।

कोसी प्रदेशसभामा हाल ९२ सदस्य छन् भने सरकार बनाउन ४७ मत आवश्यक पर्छ। मुख्यमन्त्री कार्कीले सदन फेस गर्ने तयारी गरेसँगै प्रदेशको सत्ता समीकरण थप अनिश्चित बनेको छ।