रास्वपाले बाँकी जिल्ला र प्रदेश अधिवेशनका लागि निर्वाचन सर्कुलर जारी
Prime TV News ५४ मिनेट अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्रअन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेश समितिका लागि तीन बुँदे नीतिगत स्पष्टतासहितको सर्कुलर जारी गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी परिपत्रमा निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्न हालसम्म अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेशमा पहिलो महाधिवेशन चक्रकै प्रक्रिया र नियम लागू हुने उल्लेख गरिएको छ।
रास्वपाका अनुसार यसअघि जारी गरिएको पार्टी विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगका निर्णय र व्याख्याहरू बाँकी अधिवेशनमा पनि समान रूपमा कार्यान्वयन गरिनेछ। परिपत्रमा उम्मेदवारी दर्ता र प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था पनि स्पष्ट गरिएको छ।
अब महाधिवेशन चक्रमा कुनै तहमा बहाल रहेको सदस्यले अर्को तह वा पदका लागि उम्मेदवारी दर्ता गरेलगत्तै उसको पुरानो प्रतिनिधिको हैसियत स्वतः समाप्त हुने व्यवस्था गरिएको छ। यसका लागि छुट्टै राजीनामा दिनुपर्ने छैन।
त्यसैगरी, ‘एक व्यक्ति, एक तह’ को सिद्धान्त कडाइका साथ लागू गरिने र एउटै महाधिवेशन चक्रमा कुनै पनि सदस्यले एकभन्दा बढी तहमा प्रतिनिधित्व गर्न नपाउने व्यवस्था गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले पार्टीका सबै सदस्य, प्रतिनिधि, उम्मेदवार, पदाधिकारी तथा अधिवेशन आयोजक समितिलाई उक्त निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।







