प्रतिनिधिसभा बैठक आज, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे छलफल हुने

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रतिनिधिसभा बैठक आज, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे छलफल हुने

काठमाडौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुका साथै भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ प्रतिनिधिसभामा पेस गर्नेछिन्।

त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, सुरक्षित आवास, आधारभूत सेवा, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सुनिश्चितताका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

साथै प्रभावित परिवारलाई उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति र वास्तविक भूमिहीनलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषय पनि समावेश गरिएको छ। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन्।

यसैबीच, आज सङ्घीय संसद्का पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ। अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफाबार छलफललाई निरन्तरता दिनेछ भने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनका विषयमा छलफल गर्नेछ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमा सैद्धान्तिक तथा दफाबार छलफल गर्ने कार्यसूची रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारी आश्वासनसम्बन्धी विषयमा पूर्वसभापति रामनारायण विडारीसँग विचार–विमर्श गर्ने कार्यक्रम तय गरिएको छ।