ह्वाट्सएपका धेरै प्रयोगकर्ताको एकाउन्ट अचानक समीक्षामा, कम्पनीले प्राविधिक त्रुटि हुन सक्ने स्वीकार्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । मेटाको स्वामित्वमा रहेको लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपका भारतसहित विभिन्न देशका धेरै प्रयोगकर्ताको एकाउन्ट सोमबार अचानक समीक्षामा परेपछि प्रयोगकर्ताहरू अन्योलमा परेका छन्।
पूर्वसूचना बिना एकाउन्ट सीमित गरिएपछि सामाजिक सञ्जालमा धेरैले गुनासो गरेका छन्। रिपोर्टअनुसार समस्या सोमबार राति करिब ८ बजेदेखि देखिन थालेको हो। एप खोल्नेबित्तिकै प्रभावित प्रयोगकर्ताको स्क्रिनमा “तपाईको एकाउन्ट समीक्षामा छ” भन्ने सूचना देखिएको थियो।
ह्वाट्सएपले देखाएको सन्देशमा प्रयोगकर्ताको एकाउन्ट तथा डिभाइससम्बन्धी जानकारी सेवाका सर्तअनुसार भए–नभएको जाँच भइरहेको उल्लेख गर्दै सामान्यतया २४ घण्टाभित्र समीक्षा परिणाम उपलब्ध गराइने जानकारी दिइएको छ। समीक्षा अवधिभर केही प्रयोगकर्ताले आफ्नो एकाउन्ट प्रयोग गर्न नसकेको बताएका छन्।
घटनापछि ह्वाट्सएपका प्रवक्ताले प्रयोगकर्ताको सुरक्षा प्राथमिकतामा राखेर सेवा दुरुपयोग गर्ने गतिविधि पहिचान गर्न कम्पनीले नियमित रूपमा निगरानी गर्ने बताएका छन्। उनले स्वचालित प्रणालीबाट कहिलेकाहीँ त्रुटि हुन सक्ने स्वीकार गर्दै त्यस्तो अवस्थामा प्रभावित प्रयोगकर्ताको पहुँच सकेसम्म छिटो पुनःस्थापित गर्न कम्पनीले काम गर्ने स्पष्ट पारे।
कम्पनीका अनुसार प्रभावित एकाउन्टहरूको समीक्षा प्रक्रिया जारी छ। समीक्षा पूरा भएपछि सम्बन्धित प्रयोगकर्तालाई नतिजाबारे जानकारी दिइनेछ। कम्पनीले समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।







