रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । पूर्वी रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
बाकाउ आपत्कालीन सेवा निर्देशनालयका अनुसार दुर्घटनाको सूचना प्राप्त भएपछि दमकल, एम्बुलेन्स तथा सघन उपचार मोबाइल युनिटसहितको उद्धार टोली तत्काल घटनास्थलमा पुगेको थियो। तर, चिकित्सक टोली पुग्दासम्म दुवै जनाको मृत्यु भइसकेको थियो।
बाकाउले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट दुई जना घाइते भएको सूचनापछि उद्धार टोली परिचालन गरिएको उल्लेख गर्दै घटनास्थलमा पुगेपछि दुवैलाई मृत घोषणा गरिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतकहरू नेपाली नागरिक रहेको पुष्टि भए पनि उनीहरूको नाम, ठेगाना तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्। नेपाली नागरिकहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना किन भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।







