नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौमा प्रदर्शन, माग पूरा गर्न सरकारसँग आग्रह
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्यलगायत १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौँ उपत्यकाका नर्सहरूले प्रदर्शन गरेका छन्।
आन्दोलनको छैटौँ दिन वीर अस्पताल परिसरमा भेला भएका नर्सहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै रानाभाटले उठाएका माग जायज रहेको भन्दै सरकारसँग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्।आमरण अनसनमा रहेकी रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ।
हाल उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार भइरहेको छ। प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले नेपालमा नर्सहरूको तलब, भत्ता, सेवा–सुविधा र वृत्ति विकाससँग सम्बन्धित समस्या समाधानका लागि विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको आरोप लगाए। सम्झौता कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको उनीहरूको भनाइ छ।
रानाभाटको आन्दोलनप्रति डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल तथा नेपाल सीएमए सङ्घले पनि ऐक्यबद्धता जनाएका छन्।







