संवादमा जोड दिन थाले शाह सरकारका मन्त्री, कार्यशैलीमा देखियो परिवर्तन
Prime TV News ४४ मिनेट अगाडि 
काठमाडौ । सरकार गठनपछि संवाद, सहकार्य र जवाफदेहिताको अभाव भन्दै आलोचित बनेको प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार पछिल्ला दिनहरूमा कार्यशैली परिवर्तनतर्फ उन्मुख देखिएको छ।
प्रारम्भिक चरणमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभा, विपक्षी दल, आफ्नै दलका नेता–सांसद तथा सञ्चारमाध्यमसँग दूरी कायम राखेको भन्दै व्यापक आलोचना भएको थियो। सरकारको यही शैलीका कारण सडकदेखि सदनसम्म असन्तुष्टि बढेको थियो भने केही समूहले सिंहदरबारको मुख्य प्रवेशद्वारमै विरोध प्रदर्शनसमेत गरेका थिए।
तर, पछिल्ला केही सातायता प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न सरोकारवालासँग संवाद बढाउन थालेका छन्। केही साताअघि प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर छलफल गरेका थिए। साथै, मधेशमा उत्पन्न तनावपछि राजनीतिक दल, नागरिक समाज तथा अन्य सरोकारवालासँग भेटघाटलाई पनि प्राथमिकता दिएका छन्।
यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन, आर्थिक सुधार तथा वित्तीय क्षेत्रका विषयमा व्यवसायी, बैंक तथा सम्बन्धित निकायसँग नियमित संवाद गर्दै आएका छन्। उनले नीतिगत कार्यान्वयनलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझावलाई महत्व दिइरहेका छन्।
गृहमन्त्री सुधन गुरुङले पनि मधेशमा उत्पन्न असहज परिस्थितिपछि प्रभावित जिल्लाहरूको भ्रमण गर्दै स्थानीय समुदाय, जनप्रतिनिधि र सरोकारवालासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका थिए। उनको संवादमुखी पहलले तनाव थप फैलिन नदिन सहयोग पुगेको सरकारी दाबी छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले पनि सञ्चारमाध्यम र शिक्षा क्षेत्रका सरोकारवालासँग संवादलाई तीव्रता दिएका छन्। उनले मंगलबार राजनीतिक बिटमा समाचार लेख्ने पत्रकारहरूलाई मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरेका छन्।
मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्ने चुनौती तथा सूचना प्रणालीलाई अझ विश्वसनीय बनाउने विषयमा विचार आदानप्रदान हुनेछ।
मन्त्री पोखरेलले पछिल्लो समय सञ्चारमाध्यम, पत्रकार, शैक्षिक संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग नियमित संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको उनको सचिवालयले जनाएको छ।







