प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच भेट, मधेशको सुरक्षा अवस्थाबारे छलफल

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच भेट, मधेशको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे गृहमन्त्री गुरुङले प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। मधेशका विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेका गृहमन्त्रीले घटनापछि सरकारले अपनाएका कदम र वर्तमान अवस्थाबारे ब्रिफिङ गरेका हुन्।

भेटमा तराई–मधेशमा शान्ति सुरक्षा कायम राख्न आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिबारे पनि सामान्य छलफल भएको जनाइएको छ। गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो।

सोही घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि तनाव अन्य जिल्लामा फैलिँदा सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको थियो। प्रधानमन्त्री र गृहमन्त्रीबीच यही घटनाक्रमपछि विकसित सुरक्षा अवस्थाबारे समीक्षा भएको स्रोतले जनाएको छ।