सांसद राजुनाथ पाण्डेको व्यवहारप्रति नेपाली सेनाको असन्तुष्टि, प्रधानमन्त्रीसँग पनि उठ्यो विषय

User Image Prime TV News ३ घण्टा अगाडि
Image of सांसद राजुनाथ पाण्डेको व्यवहारप्रति नेपाली सेनाको असन्तुष्टि, प्रधानमन्त्रीसँग पनि उठ्यो विषय

काठमाडौ । काठमाडौं–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वरमा नेपाली सेनाका जवानसँग गरेको दुर्व्यवहारको घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिएको जनाएको छ।

स्रोतका अनुसार सेनापति अशोकराज सिग्देलले मंगलबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको भेटमा उक्त घटनाप्रति सेनाको असन्तुष्टि व्यक्त गरेका छन्। गोकर्ण क्षेत्रमा कोरिडोर विस्तारका क्रममा सांसद पाण्डेले सैनिक अधिकारीलाई हप्कीदप्की गरेको विषयलाई सेनाले गम्भीर रूपमा उठाएको बताइएको छ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा सांसद पाण्डेले नेपाली सेनाका अधिकारीसँग चर्को स्वरमा विवाद गरेको देखिन्छ। जानकारी अनुसार गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र नजिकै कोरिडोर विस्तारका क्रममा विवाद भएको थियो।

सांसद पाण्डेले विस्तारका लागि एउटा पर्खाल हटाउन खोज्दा त्यसले सैनिक क्याम्पमा असर पर्ने भन्दै सेनाका अधिकारीले रोक्न आग्रह गरेका थिए। त्यसक्रममा दुवै पक्षबीच भनाभन भएको बताइएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले घटनाबारे सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताएका छन्।

यस विषयमा सांसद राजुनाथ पाण्डेको प्रतिक्रिया भने सार्वजनिक भएको छैन। साथै, प्रधानमन्त्री कार्यालयले पनि सेनापति र प्रधानमन्त्रीबीच भएको भेटमा उक्त विषयमा भएको छलफलबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।