हर्क साम्पाङले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट नहटाएको भन्दै सभामुखसँग जवाफ माग
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाइएको विषयमा सभामुख डोलप्रसाद अर्यालसँग प्रश्न गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने आशयको अभिव्यक्ति हटाउन माग गरे।
उनले उक्त भनाइ अझै संसद्को रेकर्डमा कायम रहेको भन्दै सभामुखको धारणा माग गरेका हुन्। “रेकर्डबाट पनि हटाइएको छैन। तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो र मेटाउनुभएको छैन अथवा के हो ? यहाँले पनि भन्दिँदा हुन्थ्यो,” साम्पाङले भने।
साम्पाङले सांसदहरूलाई देशभर निर्वाध रूपमा हिँडडुल गर्ने वातावरण बनाउनुपर्ने पनि बताए। उनले गत साउन ५ गते जनकपुर जाने क्रममा आफू आबद्ध श्रमदातामाथि कुटपिट भएको दाबी गर्दै घटनाबारे सदनको ध्यानाकर्षण गराए।
त्यस्तै, सुनसरी घटनाका क्रममा गृहमन्त्रीले हिन्दु सम्राट सेनासँग वार्ता गरेको विषयमा पनि उनले आपत्ति जनाएका छन्। उनले सरकारको संवाद र सुरक्षा नीतिबारे प्रश्न उठाउँदै घटनाको उचित छानबिन हुनुपर्ने माग गरे।







