ग्यास अभाव अस्थायी भएको भन्दै अनावश्यक सञ्चय नगर्न एलपी ग्यास उद्योग सङ्घको आग्रह
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । एलपी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी रहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
सङ्घले पछिल्लो समय ग्यास खरिदका लागि विभिन्न स्थानमा लामो लाइन लाग्ने र लाइनमा बसे पनि ग्यास नपाउने अवस्था देखिएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ किलोग्राम) ग्यास वितरण गरिएको थियो।
अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएको, आयात नियमित भएको र उपभोक्ताको माग पूरा सिलिन्डर (१४.२ किलोग्राम)तर्फ रहेकाले पुनः पूरा सिलिन्डर वितरण सुरु गरिएको जनाएको छ
ग्यास आयात नियमित हुँदाहुँदै पनि बजारमा अभाव देखिनुको कारण विगत चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डरको प्रयोग हुनु तथा ग्यास नपाइने आशंकाले उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्नु रहेको सङ्घले जनाएको छ।
सङ्घले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गरेको छ। साथै विक्रेतालाई पारदर्शी र व्यवस्थित रूपमा प्राथमिकताका आधारमा ग्यास वितरण गर्न तथा उद्योग र नेपाल आयल निगमलाई बजार सहज नहुँदासम्म आवश्यकताअनुसार थप आयात र वितरणको व्यवस्था मिलाउन आग्रह गरेको छ।
सबै पक्षले जिम्मेवार ढङ्गले सहकार्य गरे बजारमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास सङ्घले व्यक्त गरेको छ ।







