सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने कांग्रेस संसदीय दलका नेता आङदेम्बेको माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी लगायतका जिल्लामा भएका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लामा भएका घटनामा नागरिकको ज्यान जाने अवस्था किन आयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।
“सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ,” उनले भने।
उनले घटनाका क्रममा भएको सम्पत्तिको क्षतिको यकिन गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। आङदेम्बेले घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने मागसमेत राखे। “हाम्रो स्पष्ट माग छ, यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्छ,” उनले भने।







