नेप्से परिसूचक २१ अङ्कले घट्यो, बजार पूँजीकरणमा पनि कमी

User Image Prime TV News ४९ मिनेट अगाडि
Image of नेप्से परिसूचक २१ अङ्कले घट्यो, बजार पूँजीकरणमा पनि कमी

काठमाडौ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक दोहोरो अङ्कले घटेको छ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको बजार अन्ततः अघिल्लो कारोबार दिनको तुलनामा २१.१५ अङ्कले घटेर २६६३.१८ विन्दुमा पुगेर बन्द भएको हो। बजारमा बिक्री चाप बढ्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको थियो।

आज कुल ३४३ वटा कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २ सय ७२ पटक कारोबार भएका छन्। यसबाट कुल ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज अधिकांश कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन्। कुल सूचीकृत कम्पनीमध्ये २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ वटा कम्पनीको मूल्य बढेको छ।

त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने लाभ लिएका छन्। एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिसेयर १७३१.४० रुपैयाँ पुगेको छ। त्यस्तै, खानीखोला हाइड्रोको सेयर मूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा खानीखोला हाइड्रो अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ४० करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि सिद्धार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाइड्रोपावरको १६ करोड ५७ लाख र सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से परिसूचक घटेसँगै कुल बजार पूँजीकरणमा पनि कमी आएको छ। कारोबार बन्द हुँदा नेपालको सेयर बजारको कुल बजार पूँजीकरण ४५ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ।