सुनसरी घटनाको छानबिन गर्न विपक्षी दलहरूको माग, न्यायिक समिति गठन गर्न आग्रह
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । विपक्षी दलहरूले सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक तथा नागरिक संवाद संयन्त्र गठन गर्न माग गरे। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी त्यसको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रतिक्रियासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए।
नेकपा एमालेका सांसद गुरु बरालले पनि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे। उनले सुनसरी घटनामा चार जनाको मृत्यु भएको विषयमा नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।
नेकपाकी सांसद बलावती शर्माले सुनसरीको देवानगञ्जमा भएको घटना र त्यसपछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावबारे सत्यतथ्य पत्ता लगाउन विश्वसनीय आयोग गठन गर्नुपर्ने बताइन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरे।
विपक्षी दलका सांसदहरूले घटनाको निष्पक्ष अनुसन्धान, पीडितलाई न्याय र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएका छन्।







