रवीन्द्र मेहेताको शव उठाउन परिवारको अस्वीकार, माग पूरा भएपछि मात्रै अन्त्येष्टि गर्ने अडान
Prime TV News ५८ मिनेट अगाडि 
काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहेताको शव परिवारले बिनासम्झौता नबुझ्ने अडान लिएको छ।
मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा २२ वर्षीय मेहेताको निधन भएको थियो। त्यसपछि परिवारका सदस्य र आफन्तले अस्पतालको आईसीयू कक्षबाहिर बसेर सरकारसँग माग सम्बोधन नभएसम्म शव नउठाउने बताएका छन्।
परिवारले गृहमन्त्री आफैं आएर वार्ता गर्नुपर्ने, आफूहरूको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्रै शव अस्पतालबाट लैजाने जनाएको छ। अस्पतालमा आफन्तहरूको उपस्थिति पनि बढ्दै गएको छ। यसअघि सोही घटनामा मृत्यु भएका तीन जनाका परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नेलगायत विषयमा सम्झौता गरेको थियो।
रवीन्द्र मेहेताको परिवार र आफन्तले पनि अन्य मृतकका परिवारसँग भएको जस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टिका लागि लैजाने अडान राखेका छन्।







