प्रधानमन्त्री शाहले सुदूरपश्चिमका सांसदसँग गरे छलफल, विकास निर्माणका विषयमा लिए जानकारी

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रधानमन्त्री शाहले सुदूरपश्चिमका सांसदसँग गरे छलफल, विकास निर्माणका विषयमा लिए जानकारी

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा समसामयिक राजनीतिक अवस्था तथा सुदूरपश्चिम प्रदेशका विकास निर्माणका विषयमा छलफल भएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्र भ्रमणका क्रममा देखिएका समस्या र जनताका गुनासाबारे सांसदहरूसँग जानकारी लिएका थिए।

रास्वपा सांसद केपी खनालका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालन तथा मेडिकल शिक्षाको अध्ययनका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ। यस्तै, अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा ऐलानी जग्गाको लालपुर्जा वितरण, सेती लोकमार्ग, चिसापानी–जंगलघाट सडकखण्ड, खुटिया–दीपायल सडक र महाकाली करिडोरको निर्माण अवस्थाबारे पनि सांसदहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

छलफलमा कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना तथा स्थानीय तहका विभिन्न समस्याबारे पनि विषय उठाइएको थियो।

त्यस्तै, भन्सारसम्बन्धी समस्या, आरक्षपीडितको समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानको विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्रीसँगको छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली, केपी खनाल तथा नेपाली कांग्रेसका सांसद जनकराज गिरीलगायत सहभागी थिए।