एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

User Image Prime TV News ५६ मिनेट अगाडि
Image of एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

काठमाडौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन्।

सोमबार साँझ भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोल्दाबोल्दै उनी अचानक बेहोस भएपछि सुरुमा ठिमी अस्पतालमा उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि आराम गरेका थपलियालाई थप उपचारका लागि मंगलबार अपराह्न वीर अस्पताल लगिएको हो।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई अपराह्न करिब ४ बजे सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको छ। अस्पताल पुगेपछि उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरिएको छ। डा. बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, अक्सिजनको मात्रा लगायत सबै जीवनरक्षक सूचक (भाइटल साइन) सामान्य अवस्थामा छन्।

अस्पतालले उनलाई सलाइन चढाएर निरन्तर चिकित्सकीय निगरानीमा राखेको जनाएको छ। थपलिया टाइप–२ मधुमेहका बिरामी भएकाले सो अवस्थालाई समेत ध्यानमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। सोमबारको घटनाका बेला थपलिया पार्टीभित्र नेतृत्व परिवर्तन र राजीनामाको विषयमा बढेको दबाबका बीच अध्यक्ष ओलीसँग छलफलमा सहभागी रहेको बताइएको छ।