फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

User Image Prime TV News ११ महिना अगाडि
Image of फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौ । शुक्रबार बिहान फिलिपिन्सको दक्षिणी मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्ससहित छिमेकी इन्डोनेसिया र पलाउका केही तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार भूकम्पको केन्द्रबिन्दु समुद्र तलमा रहेको थियो । जसका कारण ठूलो लहर उठ्न सक्ने खतरा रहेको बताइएको छ।

प्यासिफिक सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटमा सामान्य ज्वारभाटा भन्दा तीन मिटर सम्म अग्लो लहर आउन सक्ने चेतावनी दिएको छ। इन्डोनेसियाको उत्तरी सुलावेसी, पपुवा क्षेत्र र पलाउका लागि पनि एक मिटरसम्म अग्ला लहरको सम्भावना व्यक्त गरिएको छ।

फिलिपिन्सको ज्वालामुखी तथा भूगर्भीय संस्थाले तटीय बासिन्दाहरूलाई तत्काल उच्च स्थानमा जान वा सुरक्षित क्षेत्रमा सारिन अनुरोध गरेको छ। केही दिनअघि मात्रै सेबु प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पमा ७४ जनाको मृत्यु भएको थियो र ५०० भन्दा बढी घाइते भएका थिए।