गोकर्ण घटनाबारे सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री सचिवालयले गरायो सचेत
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । काठमाडौको गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेबीच भएको विवादबारे चौतर्फी चर्चा भएपछि सांसद पाण्डेले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल हटाउने विषयमा सांसद पाण्डे र ड्युटीमा खटिएका सैनिक अधिकारीबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
माकलबारीदेखि गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा सांसद पाण्डेसहितका जनप्रतिनिधि डोजरसहित स्थलमा पुगेका थिए। त्यसक्रममा सुरक्षामा खटिएका सैनिक अधिकारीले आधिकारिक पत्रको माग गर्दै ब्यारेक र सुरक्षा संवेदनशीलताको विषय उठाएका थिए। सांसद पाण्डेले भने नेपाल ट्रस्टको अध्यक्ष भौतिक पूर्वाधारमन्त्री रहने र सडक विस्तारको काम नरोकिने भन्दै पर्खाल हटाउने पक्षमा अडान लिएका थिए।
घटनापछि प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोक राज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो। स्रोतका अनुसार नियमित भेटका क्रममा सुरक्षा निकायसँग सांसद पाण्डेको व्यवहारबारे पनि छलफल भएको थियो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सांसद पाण्डेलाई कार्यालयमा बोलाएर सुरक्षा निकायसँग संवाद गर्ने शैली र प्रधानमन्त्रीको नाम अनावश्यक रूपमा नजोड्न सचेत गराएको थियो।
सांसद पाण्डेले प्रधानमन्त्री कार्यालय गएको स्वीकार गर्दै आफू आवश्यक पर्दा यसअघि पनि जाने गरेको र भविष्यमा पनि जाने बताएका छन्। प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण र सार्वजनिक आलोचनापछि सांसद पाण्डेले विज्ञप्तिमार्फत नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन्।
उनले भाइरल भिडियो समन्वयका क्रममा केही मिनेट भएको भनाभनको अंश मात्र भएको दाबी गर्दै प्रारम्भिक विवादपछि नेपाली सेनासँग पूर्ण समन्वय र सहकार्यमा बागमती करिडोर विस्तारको काम सम्पन्न गरिएको स्पष्ट पारेका छन्।







