आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार दिउँसोभन्दा रातिको वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ। दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति भने कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा भने वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र केही तराई क्षेत्रमा पनि वर्षा हुने विभागको प्रक्षेपण छ।
हाल मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।







