अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, आन्दोलन स्थगित
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । विभिन्न माग राखेर वीर अस्पतालमा एक सातादेखि आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। गएराति २:३५ बजे भएको सहमतिसँगै रानाभाटले आफ्नो अनसन अन्त्य गरेकी छन्।
सहमति अनुसार सरकारी, प्रतिष्ठान, निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज र शिक्षण संस्थामा कार्यरत नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा र सम्मानजनक सेवा शर्त निर्धारण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले कम्तीमा छ महिनाभित्र आफ्नो प्रतिवेदन तयार गरी आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको छ।
त्यस्तै, छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीसम्बन्धी निर्देशिका ३० दिनभित्र संशोधन गर्ने तथा सहायक नर्स मिडवाइफ (एएनएम) लाई प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ तथा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने विषय पनि सहमतिमा समेटिएको छ।
यसअघि नेपाल नर्सिङ संघले रानाभाटले उठाएका मागलाई जायज भन्दै तत्काल सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। रानाभाटले साउन १४ गतेदेखि १५ बुँदे माग राखेर अनसन सुरु गरेकी थिइन्। अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो।









