यमन नजिक लाल सागरमा भारतीय झण्डावाहक जहाजमाथि हमला, १३ भारतीयको सकुशल उद्धार
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा बोकेको एक व्यावसायिक जहाजमाथि आक्रमण भएको छ ।
प्रारम्भिक विवरणअनुसार इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजलाई निशाना बनाएका हुन्।
आक्रमणपछि ‘एमएसभी फैजे नूर–ए–औलिया’ नामको जहाज डुबेको बताइएको छ। जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित रूपमा उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।
घटनाप्रति भारतीय विदेश मन्त्रालयले कडा निन्दा गर्दै चालक दलका सदस्यहरूको सुरक्षाका लागि आवश्यक पहल भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको छ भने यमनका सम्बन्धित निकायसँग समन्वय गरेर उद्धारपछिको व्यवस्थापन अघि बढाइएको छ।
यसअघि पनि लाल सागर र आसपासका समुद्री क्षेत्रमा व्यावसायिक जहाजहरू लक्षित आक्रमण भइरहेका छन्। गत फागुनमा भारतको गुजराततर्फ तेल बोकेर आइरहेको थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ जहाजमा आक्रमण भएको थियो।
त्यसैगरी गत असारमा ओमानको तट नजिक ‘जीएफएस ग्यालेक्सी’ जहाजमाथिको आक्रमणमा ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको थियो भने एक जना अझै बेपत्ता छन्।
यता हुथी विद्रोहीको धम्कीपछि ६ वटा साउदी सुपरट्यांकरले आफ्नो नियमित समुद्री मार्ग परिवर्तन गरेका छन्। ती जहाजहरूले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने छोटो मार्ग त्यागेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो मार्ग अपनाएका छन्।
पछिल्ला घटनाले लाल सागर क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षा चुनौती थप गम्भीर बनेको संकेत गरेको छ। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने यो समुद्री मार्गमा बढ्दो सुरक्षा जोखिमले अन्तर्राष्ट्रिय ढुवानी र ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता बढेको छ।







