अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा सुनचाँदी महँगियो
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन एकै दिनमा उल्लेखनीय रूपमा महँगिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ४ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागिरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।







