मुख्यमन्त्री परिवर्तनबारे एमालेमा अझै सहमति छैन, आज फेरि ओली–कार्की छलफल हुने

User Image Prime TV News २ घण्टा अगाडि
Image of मुख्यमन्त्री परिवर्तनबारे एमालेमा अझै सहमति छैन, आज फेरि ओली–कार्की छलफल हुने

काठमाडौ ।  नेकपा एमाले भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश नेतृत्वबीच बुधबार पुनः छलफल हुने भएको छ।

एमाले कोशीका नेताहरूका अनुसार छलफलको समय भने अझै तय भएको छैन। पार्टी अध्यक्ष ओलीले बोलाएलगत्तै छलफलमा सहभागी हुने तयारीमा प्रदेश नेतृत्व रहेको बताइएको छ। एक पदाधिकारीका अनुसार आजको बैठकबाट मुख्यमन्त्री परिवर्तनको विषयमा निष्कर्ष निकाल्ने प्रयास हुनेछ।

मंगलबार अध्यक्ष ओलीले एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग भेट गर्दै हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको धारणा दोहोर्‍याएका थिए। उनले प्रदेश नेतृत्वलाई सोही निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

त्यसपछि मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता भएको थियो। भेटका क्रममा कार्कीले अहिलेको अवस्थामा मुख्यमन्त्री परिवर्तन गर्दा सकारात्मक सन्देश नजाने भन्दै तत्काल राजीनामा दिन असहमति जनाएको स्रोतले जनाएको छ।

यसअघि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पनि अध्यक्षको निर्देशन अनुसार कार्कीसँग राजीनामा मागेका थिए। तर कार्कीले संस्थागत निर्णयबिना पद नछाड्ने अडान लिँदै आएका छन्।

मुख्यमन्त्रीले राजीनामा दिन अस्वीकार गरेपछि इन्चार्ज राईले विराटनगरमा प्रदेश सांसदहरूसँग परामर्शलाई तीव्र बनाएका छन्। संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त भएका मुख्यमन्त्री कार्कीले पद नछाडेसम्म नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन कानुनी जटिलता देखिएको छ।

यसअघि कार्कीलाई संसदीय दलको नेताबाट हटाउने विकल्पबारे पनि छलफल भएको थियो। तर दलको नेता परिवर्तन हुँदैमा मुख्यमन्त्री पद स्वतः नजाने संवैधानिक व्यवस्थाका कारण अहिले एमालेभित्र मुख्यमन्त्री परिवर्तनको प्रक्रियामै अन्योल र आन्तरिक किचलो देखिएको छ।