नेपालमा करिब ६० हजार एनजीओ दर्ता, सक्रिय भने १० हजार मात्रै

User Image Prime TV News २ घण्टा अगाडि
Image of नेपालमा करिब ६० हजार एनजीओ दर्ता, सक्रिय भने १० हजार मात्रै

काठमाडौ । नेपालमा करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) दर्ता भए पनि तीमध्ये करिब १० हजार संस्था मात्रै सक्रिय रहेको जानकारी समाज कल्याण परिषद्ले दिएको छ।

परिषद्का सदस्य सचिव चक्र बुढाका अनुसार नेपालमा २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) दर्ता रहेकामा १३६ वटा मात्र हाल सक्रिय छन्। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबार बसेको बैठकमा उनले देशभरका एनजीओ र आईएनजीओको अवस्थाबारे जानकारी गराएका हुन्।

समितिमा एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि राजीनामाका लागि दबाब दिइएको तथा राजीनामा नदिए महाभियोगको चेतावनी दिइएको भन्दै जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा छलफल भएको थियो। सोही विषयमा समितिका सदस्य यज्ञमणि न्यौपानेले छलफलको माग गरेका थिए।

छलफलका क्रममा सदस्य सचिव बुढाले ती अन्तर्राष्ट्रिय संस्थाको नेपालमा रहेको कानुनी अवस्थाबारे पनि जानकारी दिए। उनका अनुसार एमनेस्टी इन्टरनेशनलको नवीकरण अवधि सकिएको छ र हाल नवीकरण प्रक्रियामा रहेको छ। इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको नवीकरण २०२७ सम्म कायम छ भने ह्युम्यान राइट्स वाचले २०६४ सालमा स्वीकृति लिएपछि त्यसयता न नवीकरण गरेको छ, न नयाँ स्वीकृति नै लिएको छ।

समितिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नेपालमा रहेको कानुनी हैसियत र उनीहरूको गतिविधिबारे थप स्पष्ट जानकारी संकलन गर्ने विषयमा पनि चासो देखाएको छ।