रुसको भीषण हवाई आक्रमणमा किभमा १४ जनाको मृत्यु, २२ भन्दा बढी घाइते
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । रुसले मंगलबार राति युक्रेनको राजधानी किभमा व्यापक हवाई आक्रमण गरेको छ।
युक्रेनी अधिकारीहरूका अनुसार क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन्। बीबीसीका अनुसार किभ सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले रुसले राजधानीलाई लक्षित गर्दै ठूलो मात्रामा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।
उनका अनुसार किभ सहरभित्र तथा वरपरका क्षेत्रमा लगातार विस्फोट भएका थिए। आक्रमणमा बोरिसपिल जिल्लामा नौ जनाको मृत्यु भएको छ भने बुचा जिल्लामा चार र फास्टिभ जिल्लामा एक जनाले ज्यान गुमाएका छन्। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको अधिकारीहरूले जनाएका छन्।
युक्रेनी सेनाले रुसले नागरिक बस्ती र आवासीय क्षेत्रलाई लक्षित गरी जानाजानी आक्रमण गरेको आरोप लगाएको छ। आक्रमणपछि उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताइएको छ। उता, रुसले भने यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।







