सरकारमाथि कांग्रेसको आरोप– जनविश्वासको संकटबाट बच्न विषयान्तरको प्रयास
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले नैतिक, राजनीतिक र जनविश्वासको संकट सामना गरिरहेका बेला समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार सुशासन र उत्तरदायित्वका सवालमा कमजोर बन्दै गएको दाबी गर्दै जनचासोका मूल विषयबाट ध्यान हटाउन नयाँ–नयाँ बहस सिर्जना गर्ने रणनीतिमा लागेको बताए।
उनले सरकारको मुख्य दायित्व उत्पन्न भएका समस्याको समाधान गर्नु भए पनि वर्तमान सरकारले त्यसको सट्टा विषयान्तरको राजनीति गरिरहेको टिप्पणी गरे। जनताको विश्वास गुमाउँदै गएको अवस्थामा सरकारले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
प्रवक्ता चालिसेले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग सम्बन्धित मुद्दाहरूलाई कुनै पनि राजनीतिक रणनीतिले ओझेलमा पार्न नसकिने बताए। उनका अनुसार यस्ता विषय समयसँगै अझ गम्भीर रूपमा स्थापित हुने भएकाले सरकार जिम्मेवार बन्न आवश्यक छ।
कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने आफ्नो चाहना नभएको स्पष्ट पार्दै संविधान, कानुनी शासन, सुशासन र पारदर्शिताका आधारमा सरकार प्रभावकारी र स्थिर बन्नुपर्ने धारणा दोहोर्याएको छ। चालिसेले कांग्रेस कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न इच्छुक नरहेको उल्लेख गर्दै सरकारका निर्णय र गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य तथा नागरिक अधिकारमाथि असर पर्ने अवस्था आए प्रतिपक्षको हैसियतमा आवाज उठाउनु आफ्नो दायित्व भएको बताए।
उनले विकसित राजनीतिक घटनाक्रमले सत्ता प्राप्त गरेपछि सबै दल समान रूपमा संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखाएको उल्लेख गर्दै लोकतन्त्रप्रतिको वास्तविक प्रतिबद्धता व्यवहारबाट पुष्टि हुने धारणा व्यक्त गरे।







