मन्त्रिपरिषद् बैठकका सात निर्णय
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सरकारले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। तथ्याङ्क व्यवस्थापन र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित गर्ने उद्देश्यले नियमावली संशोधन गरिएको जनाइएको छ।
त्यस्तै, सरकारले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। ऐन कार्यान्वयनमार्फत पशु बध, मासु उत्पादन तथा बिक्री वितरण प्रक्रियालाई व्यवस्थित र गुणस्तरीय बनाउने लक्ष्य लिइएको छ।
सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका अन्य निर्णयहरू पनि सार्वजनिक गरेको छ। ती निर्णयहरू सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन प्रक्रियामा लैजाने जनाइएको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
१. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।
२. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने।
३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।
४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने ।
५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने ।
७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।






