राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा नलाग्ने, निर्णयको जिम्मा अध्यक्ष लिङ्देनलाई

User Image Prime TV News २ घण्टा अगाडि
Image of राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा नलाग्ने, निर्णयको जिम्मा अध्यक्ष लिङ्देनलाई

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार निर्माणको अंकगणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तत्काल सत्ता समीकरणको खेलमा नलाग्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाको धारणा अहिले पनि प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दलहरू मिलेर सञ्चालन गरुन् भन्ने रहेको छ।

उनले भने, “प्रदेश सरकारका सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिँदै उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको छ।”

प्रदेश सरकारबारे आवश्यक समयमा पार्टीले निर्देशन जारी गर्ने उनले बताए। साथै पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन राप्रपाले आफ्ना प्रदेश संसदीय दल तथा प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन कमजोर बनेपछि बागमती र गण्डकी प्रदेशमा सरकार गठनका लागि राप्रपा निर्णायक बन्न सक्ने राजनीतिक चर्चा भइरहेका बेला राप्रपाको यस्तो निर्णय आएको हो।