सर्वोच्चका न्यायाधीशबारे विज्ञप्ति प्रकरणमा तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

User Image Prime TV News एक घण्टा अगाडि
Image of सर्वोच्चका न्यायाधीशबारे विज्ञप्ति प्रकरणमा तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको भन्ने विषयमा तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबार बसेको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स (आईसीजे) र ह्युम्यान राइट्स वाचसँग स्पष्टीकरण माग गर्न निर्देशन दिने निर्णय गरेको हो।

समाज कल्याण परिषद्मार्फत सम्बन्धित संस्थासँग आवश्यक स्पष्टीकरण माग गरिने भएकाले मन्त्रालयलाई जिम्मेवारी दिइएको समिति सभापति समीक्षा बाँस्कोटाले जानकारी दिइन्। तीन अन्तर्राष्ट्रिय संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका तीन न्यायाधीश सपना प्रधान मल्ल, हरि फुयाल र कुमार रेग्मी माथि राजीनामाको दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको दाबी गरेका थिए।

उक्त विषयमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले समितिमा आफ्नो धारणा राख्दै विज्ञप्तिमा उल्लेख गरिएका विषयको आधार र प्रमाणबारे जानकारी आवश्यक रहेको बताएकी थिइन्।

समितिले मन्त्री गौतमले दिएको स्पष्टीकरण पनि उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेको धारणा कुन आधारमा आएको हो भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक रहेको जनाएको छ। बैठकले न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक प्रक्रिया र अन्तर्राष्ट्रिय संस्थाहरूको अभिव्यक्तिको सीमाबारे आवश्यक छलफल अघि बढाउने निर्णय गरेको छ।