दुई दिनको गिरावटपछि सेयरबजारमा सुधार, नेप्से ४.७९ अंकले बढ्यो
Prime TV News २ घण्टा अगाडि काठमाडौ । लगातार दुई दिन घटेको नेपालको सेयर बजार बुधबार सामान्य सुधार भएको छ।
कारोबार मापक नेप्से परिसूचक ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। नेप्से बढे पनि ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको छ। बुधबार कुल ३५० कम्पनीका सेयर कारोबार भएका छन्।
तीमध्ये १२२ कम्पनीका सेयरमूल्य बढ्दा १४३ कम्पनीका सेयरमूल्य घटेका छन् भने ११ कम्पनीका सेयरमूल्य स्थिर रहेका छन्। बुधबार १ करोड ६७ हजार ७३२ कित्ता सेयर ६१ हजार २८६ पटक कारोबार हुँदा कुल ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ८.३२ प्रतिशत बढी हो। मंगलबार ४ अर्ब ७ करोड ८ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। समूहतर्फ हेर्दा होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहका परिसूचक बढेका छन्। सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.६० प्रतिशतले उकालो लागेको छ।
यता वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड तथा निर्जीवन बीमा समूहका परिसूचक घटेका छन्। विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ०.५० प्रतिशतले ओरालो लागेको छ।
बुधबारको कारोबारमा सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट कम्पनी, रिडी पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
त्यस्तै, एभरेष्ट कलर लिमिटेड, मञ्जुश्री फाइनान्स डिबेन्चर, कामना सेवा विकास बैंक डिबेन्चर, प्रभु बैंक डिबेन्चर र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले बढी गुमाएका छन्। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ।
कम्पनीको ५८ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ, जसको ९ लाख ३१ हजार ४५३ कित्ता सेयर किनबेच भएको छ।







