विप्लवको प्रस्ताव : ‘नयाँ कम्युनिस्ट केन्द्र बनाएर आन्दोलन पुनर्गठन गरौं’

User Image Prime TV News ५७ मिनेट अगाडि
Image of विप्लवको प्रस्ताव : ‘नयाँ कम्युनिस्ट केन्द्र बनाएर आन्दोलन पुनर्गठन गरौं’

काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरी कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले पछिल्लो समय कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको दाबी गर्दै नयाँ दृष्टिकोणसहित फराकिलो राजनीतिक केन्द्र निर्माण गर्नुपर्ने बताएका हुन्।

“कम्युनिस्ट आन्दोलनका लागि हाम्रो प्रस्ताव छ– नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाऔं। फराकिलो तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ, तर त्यसका लागि नयाँ दृष्टिकोण आवश्यक छ,” उनले भने।

उनले पछिल्ला दुई दशकमा कम्युनिस्ट नेतृत्वप्रति जनविश्वास घट्दै गएको दाबी गरे। उनका अनुसार कम्युनिस्ट आन्दोलनमा आबद्ध ठूलो हिस्सा अहिले उत्साहित अवस्थामा छैन। विप्लवले संसदीय कम्युनिस्ट दलहरूको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।

उनले दुई तिहाइ नजिकको जनमत पाएर सरकार सञ्चालन गरेका कम्युनिस्ट दलहरूले राज्यका निकायलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाए। “दुई तिहाइ नजिक मत ल्याएर सरकार चलाएका कम्युनिस्ट पार्टीहरू संसदीय सोचमा मात्रै सीमित भए। सरकारमा पुगेर पटक–पटक नेतृत्व परिवर्तन गर्दा पनि राज्य संयन्त्रलाई उचित व्यवस्थापन गर्न नसक्ने कम्युनिस्ट आन्दोलन अब पुरानै ढाँचामा अघि बढ्न नसक्ने अवस्था आएको छ,” उनले बताए।

विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि फराकिलो बहस र पुनर्गठन आवश्यक रहेको धारणा राख्दै आन्दोलनलाई नयाँ आधार र दिशासहित अघि बढाउनुपर्ने बताए।