राष्ट्र बैंकले सुन आयात र विप्रेषण भुक्तानी सीमा बढायो

User Image Prime TV News ११ महिना अगाडि
Image of राष्ट्र बैंकले सुन आयात र विप्रेषण भुक्तानी सीमा बढायो

काठमाडौ । नेपाल राष्ट्र बैंकले सुन आयात र विप्रेषण भुक्तानीको सीमा वृद्धि गरेको छ। शुक्रबार एकीकृत परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा ५ किलोग्रामले बढाएको हो । नयाँ परिपत्रअनुसार अब सुन आयातकर्ताहरूले प्रतिदिन अधिकतम २५ किलोग्राम सुन आयात गर्न सक्नेछन्। यसअघि यो सीमा २० किलोग्राम थियो।

त्यस्तै, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विप्रेषण (रेमिट्यान्स) भुक्तानीको सीमा पनि समायोजन गरेको छ। अब नेपाली तथा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले विदेशबाट प्राप्त बिक्री, कमिसन, शुल्क वा पारिश्रमिक जस्ता प्रयोजनका लागि इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी लिन सक्नेछन्। यसअघि यो सीमा २० लाख रुपैयाँ मात्र थियो।

रकम भुक्तानी गर्दा प्रचलित व्यवस्थाअनुसार ग्राहकको पहिचान सम्बन्धी कागजात आवश्यक हुनेछ। साथै, संकलित र भुक्तानी गरिएको विप्रेषण रकमको विवरण अनुसूची २४.४ अनुसार तयार गरी हरेक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभागहरूमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।